क्षितिज जैसी, लम्कीचुहा

नेपाल रेडक्रस सोसाइटी, कैलाली जिल्ला शाखाको आयोजनामा तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) को सहयोगमा आयोजित ‘लैङ्गिक हिंसा रोकथाम सम्बन्धी दुई दिने तालिम’ सोमबार टीकापुरमा सम्पन्न भएको हो ।
“नेपाल बाढीः सामान्य पूर्वकार्यका गतिविधिहरू” अन्तर्गत सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन श्रावण ५ गते नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले गर्नुभएको थियो। तालिमको समापन पनि उहाँकै सभापतित्वमा श्रावण ६ गते आज सम्पन्न भएको हो।
समापन कार्यक्रममा जिल्ला शाखाका उपसभापति दिपा बडायक, उपमन्त्री भीम बहादुर महर, उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, जिल्ला कार्यसमिति सदस्य टोपबहादुर केसी, तारा साउद, मिना चौधरी तथा केन्द्रीय कार्यालयका प्रतिनिधिहरू प्रमोद अधिकारी , विनोद लामिछाने, हेमराज जोशी, तपेन्द्र तिमिल्सैना लगायतकाको उपस्थिति रहेको थियो।
तालिममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा कार्यरत नेपाल रेडक्रसका उपशाखा स्वयंसेवक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिम नेपाल रेडक्रस सोसाइटीको लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेल र सेफगार्डिङ को–अर्डिनेटर शुभेच्छा मानन्धरले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो।
प्रशिक्षणमा सहभागीहरूलाई विपद्का समयमा हुने लैङ्गिक हिंसाका सम्भावित जोखिमहरू, सुरक्षित प्रतिक्रिया प्रणाली, रोकथामका उपायहरू, र समुदायमा लैङ्गिक समावेशी व्यवहारको आवश्यकताको विषयमा जानकारी प्रदान गरिएको थियो।
विशेषगरी बाढी तथा प्राकृतिक विपद्का समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले, यस्ता अवस्थामा उनीहरूको सुरक्षा र अधिकार संरक्षणमा विशेष ध्यान दिनुपर्ने कुरामा तालिम केन्द्रित रहेको थियो।
कार्यक्रमका सभापति जोशीले रेडक्रसको मानवियतावादी सेवा भाव, समावेशी दृष्टिकोण र समुदायकेन्द्रित कार्यशैलीलाई अझ सशक्त बनाउँदै लैजान यस्ता तालिमहरूले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
तालिम समापनका क्रममा सहभागीहरूद्वारा आ–आफ्नो क्षेत्रमा प्राप्त ज्ञानको प्रयोग गरी लैङ्गिक हिंसा न्यूनीकरणमा योगदान पुर्याउने प्रतिबद्धता जनाइएका थिए ।






