कंचनपुर, प्रकाश भट्ट

अनलाइन टिभी पत्रकारितालाई जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले स्थापित अनलाइन टिभी पत्रकार संघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले आफ्ना गतिविधिहरू तीव्र पारेको छ। यसै क्रममा संघले शनिबार बेलौरी नगरपालिकाको सभाहलमा मासिक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भक्त राज जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बेलौरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले अनलाइन पत्रकारिताको महत्व र यसले समाजमा पुर्याउन सक्ने सकारात्मक प्रभावबारे प्रकाश पारेका थिए। उनले अनलाइन सञ्चारमाध्यमहरूले समाजलाई सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिए।
त्यस्तै, अनलाइन टिभी पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारिताका चुनौती र अवसरका बारेमा चर्चा गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए।
संघका महासचिव टिकाराम साउदले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अंकित उप्रेतीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अनलाइन पत्रकारिताका अवसर र चुनौतीबारे गम्भीर छलफल भएको थियो।
कार्यक्रमपश्चात् संघले बेलौरी नगरपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल शोभातालको अवलोकन गरेको थियो। संघले शोभातालको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै संघले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूमा जिल्ला समिति गठन प्रक्रिया भदौ महिनादेखि सुरु गर्ने निर्णय गरेको छ।






