क्षितिज जैशी,लम्कीचुहा

सुदूरपश्चिम कला संस्कृति विकास संघ, भल्काले आयोजना गरेको खुला तीज नृत्य प्रतियोगितामा श्री बालकल्याण माध्यमिक विद्यालय, लम्कीचुहा–१, भुरुवाकी कक्षा १० की छात्रा जानकी सारु मगर प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्।
भदौ ८ गते सम्पन्न उक्त प्रतियोगितामा २७ जना प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा भएको थियो। तीमध्ये जानकी सारु मगरले उत्कृष्ट प्रस्तुतिका आधारमा सबैलाई पछि पार्दै प्रथम स्थानमा आफ्नो नाम अंकित गरिन्। प्रतियोगितामा महिलाहरूको महान पर्व हरितालिका तीजको महत्व उजागर गर्ने उद्देश्यले विभिन्न उमेर समूहका सहभागीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
श्री बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सहपाठीहरूले जानकीको यस उपलब्धिमा हर्ष व्यक्त गर्दै विद्यालयकै गौरव बढाएको प्रतिक्रिया दिएका छन्। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले पनि प्रतिभावान छात्रा जानकी सारु मगरले विद्यालयलाई जिल्लामा मात्र नभई सुदूरपश्चिममै चिनाउने कार्य गरेको उल्लेख गर्दै निरन्तर प्रोत्साहन दिने बताएका छन्।
आयोजक संघका पदाधिकारीहरूले प्रतियोगिता मार्फत परम्परागत संस्कृति र पर्वको महत्व उजागर गर्नुका साथै युवा पुस्तामा कला–संस्कृतिप्रतिको आकर्षण बढाउने उद्देश्य रहेको बताएका छन्।
स्थानिय समुदायले यस उपलब्धिलाई विद्यालय र भुरुवा क्षेत्रकै गौरवको रूपमा लिएको छ।




