क्षितिज जैशी,लम्कीचुहा

कैलालीको लम्कीचुहामा वातावरण संरक्षण, हरियाली विस्तार र विद्यालय–समुदायलाई सुन्दर बनाउन उद्देश्यसहित लियो क्लब अफ कैलाली लम्की इनर्जेतीक २०२५/०२६ ले शनिबार बिहान वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बिहान ८:०० बजे लम्की बहुमुखी क्याम्पसको फुलबारी क्षेत्रमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ लम्की क्षेत्रका चार ओटा क्लबहरूको अगुवाइ र अभिभावकत्वसहित सहकार्यमा आकर्षक तथा सौन्दर्यदायक फूलका बिरुवा रोपिएका हुन्।

कार्यक्रमअन्तर्गत सेतो चाँदनी, मिनी गुलमोहर, डयाकेरण्डर, चम्पा, हाईबेड हजारी, जेटफोटर, रातकी रानी (पारिजात), घण्टीफूल (रातो, सेतो र गुलाबी) लगायत सुन्दर फूलका बिरुवाहरू रोपिएका छन्। यी फूलहरूले आगामी दिनमा क्याम्पसको फुलबारी मात्र नभई सम्पूर्ण विद्यालय क्षेत्रलाई हरियाली र सौन्दर्यले भरिने विश्वास लिइएको छ। 
वृक्षरोपण कार्यक्रममा लियो जिल्ला परिषद् ३२५N नेपालकी प्रथम उपाध्यक्ष लियो कल्पना तिमिल्सेना, लायन्स क्लब अफ लम्की सिटीका अध्यक्ष टेकराज कठायत, सहायक क्याम्पस प्रमुख तथा लायन्स अभिभावक जनक बिष्ट, लायन्स अभिभावक शरोज शाह, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कर्ण रावलजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। साथै, लियो साथीहरू, लायन्स क्लबका सदस्य, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा बोल्ने वक्ताहरूले वातावरण संरक्षणका लागि वृक्षरोपण अत्यावश्यक भएको उल्लेख गर्दै, यस्तो पहलले केवल हरियाली मात्र नभई विद्यार्थीहरूमा प्रकृतिप्रतिको जिम्मेवारी बोध पनि गराउने विश्वास व्यक्त गरे। साथै, विद्यालय परिसरमा गरिएको वृक्षरोपणले विद्यार्थीहरूलाई सिकाइसँगै सौन्दर्य र शान्त वातावरणमा अध्ययन गर्न प्रेरणा दिने धारणा पनि राखियो।
लियो क्लब अफ कैलाली लम्की इनर्जेतीकका पदाधिकारीहरूले यस कार्यक्रमलाई निरन्तरता दिँदै हरेक वर्ष थप वृक्षरोपण र सरसफाइ अभियानमार्फत समाजमा हरियाली र स्वच्छता फैलाउने संकल्प व्यक्त गरेका छन्।
यस कार्यक्रमले लम्की क्षेत्रलाई हरियाली र आकर्षक बनाउन मात्र नभई, भावी पुस्तामा वातावरणीय सचेतना जगाउने महत्वपूर्ण कदमको रूपमा लिइएको छ।




