कैलाली लम्कीचुहा,क्षितिज जैसी

लम्की बाल सञ्जालको पुनर्गठन सम्पन्न भएको छ। पुर्नगठन कार्यक्रम सञ्जालका पूर्व अध्यक्ष विनोद थापाको रोहबरमा सम्पन्न भएको हो। कार्यक्रममा सर्वसम्मत निर्णयमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ।
नयाँ समितिअनुसार अध्यक्षमा क्षितिज जैसी चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा किस्मता प्याकुरेल, सचिवमा यशोदा जैसी, सहसचिवमा निशा कुरेसी, कोषाध्यक्षमा बिर्चन ओड, सह–कोषाध्यक्षमा एलिना साउँद तथा सदस्यमा दिपक रोकाया , कमल प्याकुरेल र शिवनारायण चौधरी निर्वाचित भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष विनोद थापाले विगतका उपलब्धि र अनुभवलाई आधार बनाएर नयाँ नेतृत्वले अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालबालिकाको आवाजलाई विद्यालय, समुदाय र स्थानीय निकायसम्म पु¥याउन सञ्जालले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै निरन्तर सक्रियताका लागि नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो।
नव–निर्वाचित अध्यक्ष क्षितिज जैसीले संस्थाको गतिविधिलाई अझ प्रभावकारी बनाउन व्यापक योजना प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता बालबालिकाको अधिकार सुनिश्चित गर्नु, उनीहरूलाई नेतृत्वमा अग्रसर बनाउनु र सामाजिक चेतना फैलाउनु हुनेछ। शिक्षा, स्वास्थ्य र बालमैत्री वातावरण निर्माणमा सञ्जालको योगदान अझ प्रष्ट देखिनेछ।
लम्की बाल सञ्जालले विगतका वर्षहरूमा बालअधिकार संरक्षणका अभियान, विद्यालयस्तरमा सचेतना कार्यक्रम, विद्यालयमा विद्यार्थीहरूको हौसला बढाउनका लागि विभिन्न कार्यक्रम, बालविवाह र बालश्रमविरुद्ध जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको थियो । साथै, विभिन्न सामाजिक संस्था र स्थानीय सरकारसँग सहकार्य गरेर शैक्षिक सामग्री वितरण, प्रतिभा प्रोत्साहन कार्यक्रम र समाजमा बालमैत्री वातावरण निर्माणमा जोड दिँदै आएको छ।
पुर्नगठन कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक, स्थानीय अगुवाहरूले बालसञ्जाललाई अझ बलियो बनाउन सुझाव दिएका थिए। उनीहरूले बालबालिकाको प्रतिभा उजागर गर्न, सिर्जनात्मक गतिविधि बढाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन बाल सञ्जालको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।
यसपटकको पुनर्गठनलाई लम्की क्षेत्रमा बालबालिकाको नयाँ नेतृत्व, नयाँ सोच र नयाँ ऊर्जाको सुरुवातका रूपमा लिइएको छ। नयाँ समितिले बालबालिकाको हकहितमा आवाज उठाउने मात्र नभई, आगामी दिनमा स्थानीय नीति निर्माणमा समेत सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसरी, लम्की बाल सञ्जालको पुनर्गठनसँगै बालमैत्री समाज निर्माण गर्ने अभियानलाई नयाँ गतिमा अघि बढाउने वातावरण बनेको सहभागीहरूको भनाइ छ।




