लम्की/ भाद्र २९ क्षितिज जैसी
६१औँ राष्ट्रिय बाल दिवसको अवसरमा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ लम्कीचुहा–१ स्थित शहिद स्मृति माध्यमिक विद्यालय पूर्व लम्कीमा शनिबार वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
शहिद स्मृति बाल क्लब पुर्व लम्कीको आयोजना , वडा स्तरीय बाल अधिकार संरक्षण समितिको समन्वयमा, गुड नेवर्श इन्टरनेशनल नेपाल र सेवक नेपाल कैलालीको सहयोगमा सम्पन्न प्रतियोगितामा नगरपालिकाभित्रका १५ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालय स्रोतले जनाएको छ। 
कार्यक्रमको सभापतित्व शहिद स्मृति मावि लम्की बाल क्लबका अध्यक्ष दीपक ढकालले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद ढकाल, रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी एवं अवकाश प्राप्त शिक्षक प्रमेश्वरराज कार्की तथा अन्य सरोकारवालाको उपस्थिति थियो।
विद्यालयका प्रधानाध्यापक पुर्णप्रसाद जैशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई शहिद स्मृति माविका शिक्षक एवम् नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उप–कोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले उद्देश्य र महत्वमाथि प्रकाश पार्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नरेश बहादुर थापाले गर्नुभएको थियो।
मावि तह ( कक्षा ९-१०) “बाल विवाह न्यूनीकरणमा हाम्रो भूमिका” विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती मावि भुरुवाका प्रकाश न्यौपाने प्रथम, जनसेवा मावि गणेशपुरका यमुना धमालाले द्वितीय, बालकल्याण मावि भुरुवाका पुष्पा बडुवालले तृतीय र राष्ट्रिय मावि बल्चौरका कौशल जोशीले सान्त्वना स्थान प्राप्त गरेका छन ।
त्यसैगरी निमावि तह ( कक्षा ६-८) “बाल विवाहले पार्ने प्रभाव” विषयमा भएको चित्रकला प्रतियोगितामा बालकल्याण मावि भुरुवाका भुपेन्द्र बिकले प्रथम ,कालिका मावि भुरुवा अस्मिता गुप्ताले द्वितीय , नवदुर्गा मावि मलभङाका प्रतिभा गौतमले तृतीय र जनप्रभात मावि तिलकपुरका प्रसिद्धि जैशीले सान्त्वना स्थान प्राप्त गरेका छन ।
प्रतियोगितामा वक्तृत्वकला प्रतियोगिताका निर्णायक समिति सदस्य शिक्षक रोशन बोहरा, वडा स्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य एवम् चित्रकला प्रतियोगिताका निर्णायक समिति संयोजक मोतिराम जैशी, पत्रकार महासंघ कैलालीका सदस्य चन्द्र प्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिकी सदस्य कलावती देवकोटा र जनसेवा मावि गणेशपुरकी शिक्षिका उर्मिला बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमकै क्रममा मानव सेवा आश्रम लम्कीका सञ्चालक तथा अन्तर्राष्ट्रिय समाज कल्याण परिषद्को अन्तर्राष्ट्रिय संयोजक पदमा हालै विजयी बन्नुभएका विनोद थापालाई विशेष सम्मानसमेत गरिएको थियो।
कार्यक्रमका अतिथिहरूले बालबालिकाको अधिकार सुनिश्चित गर्न विद्यालय, परिवार र समुदायबीचको सहकार्यलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।




