कैलाली लम्कीचुहा, क्षितिज जैसी

लम्कीचुहा: लगातारको वर्षाका कारण कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित बालकल्याण माध्यमिक विद्यालय डुबानमा परेको छ। विसं २०५९ सालमा स्थापना भएको यस विद्यालयलाई नगरकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक मानिँदै आएको छ।

विद्यालय प्रशासनका अनुसार, गेटदेखि भित्र जाने क्रममा विद्यार्थीहरूलाई कठिनाइ भए पनि पढाइ–अध्ययनमा अवरोध नपारी विद्यालयले निरन्तर पढाइ सञ्चालन गरिरहेको छ। हाल विद्यालयमा अध्ययनरत ७०० भन्दा बढी विद्यार्थी प्रत्यक्ष प्रभावित भए पनि व्यवस्थापनले शिक्षा निरन्तरता सुनिश्चित गर्न पहल गरेको जनाएको छ।
स्थानीय बासिन्दाहरू र अभिभावकहरूले विद्यालय वरिपरि निकास प्रणाली नहुँदा पानी जम्ने समस्या दोहोरिने गरेको बताएका छन्। प्रशासनले पनि दीर्घकालीन समाधानका लागि नगरपालिकासँग पहल गर्ने जानकारी दिएको छ।
विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोगमा विद्यालयको शैक्षिक वातावरणलाई सुरक्षित राख्दै भविष्यमा यस्ता समस्यालाई न्यूनिकरण गर्न कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।





