क्षितिज जैसी,लम्कीचुहा

दशैंको अवसर पारेर लम्की बाल सञ्जाल कैलालीले सेवा नेपालसँगको सहकार्यमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
लम्कीचुहा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता “लागुऔषत न्युनीकरणमा विद्यार्थीको भूमिका” विषयमा आधारित हुनेछ। यस कार्यक्रमलाई सफल बनाउन नगर क्षेत्रभित्रका सबै माध्यमिक विद्यालयलाई पत्र पठाई आफ्ना विद्यार्थीलाई सहभागिता गराउन अनुरोध गरिएको आयोजक संस्थाले जनाएको छ।
प्रतियोगिता आगामी २०८२ साल असोज २ गते बिहान ११:०० बजे लम्कीस्थित जेसीज सभाहलमा सञ्चालन हुनेछ। विद्यार्थीलाई आफ्नो विचार प्रकट गर्ने अवसर दिलाउने, वाककला क्षमताको विकास गर्ने र प्रतिस्पर्धात्मक शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजक लम्की बाल सञ्जालका अध्यक्ष क्षितिज जैसीले जानकारी दिए।
उनका अनुसार वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीलाई आत्मविश्वास बढाउने मात्र नभई विद्यालय र विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन पनि सहयोग पुर्याउनेछ। प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९७६९३७४४३१ (WhatsApp) मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।




