रातिको समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् ।


उनले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताए । ‘हरेक वर्ष हात्तीले नोक्सानी पुर्याउँदै आएको छ, यसको रोकथामका लागि कुनै पहल हुनसकेको छैन’, उनले भने, ‘हात्तीबाट अन्नबाली जोगाउन मुस्किल पर्छ, कहिल्यै खेती सुरक्षित भित्र्याउन पाएका छैनौं ।’
वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । ‘रातिको समयमा ३०–४० वटा हात्तीको बथान बच्चासहित दिनहुँ बस्तीमा आउँछन्’, उनले भनिन्, ‘बालबच्चा बचाउनु कि अन्न जोगाउनु साह्रै मुस्किल हुन्छ ।’
अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उनले बताइन् । ‘हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ’, महताले भनिन्, ‘हामीलाई हात्तीको धेरै दुःख छ ।’
‘मजदुरी गरेर कमाएको पैसाले खेती लगाउँछौं, खेतमा लगाएको अन्न भित्र्याउन पाइँदैन’, बडुवाल टोलका स्थानीय करणबहादुर कामीले भने, ‘खेती भित्र्याउन नपाएपछि के गर्नु जग्गा बाँझै छ किनेर खानुपर्छ ।’
छिमेकी मुलुक भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् । केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्याउँदै आएको छ ।




