लम्की/ असोज १३ क्षितिज जैसी
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले विजयादशमीको अवसर पारेर सोमबार आयोजना गरेको दशैंको पूजापाठ कार्यक्रममा दुर्घटनाग्रस्त बिरामीको उपचारका लागि संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।
जिल्ला शाखाले शाखाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूबाट व्यक्तिगत रुपमा संकलन गरेको रु. ५४ हजार ५ सय सहयोग रकम जिल्ला शाखाका सभापति लोकराज जोशीले बिरामीकी छोरी निलजम चौधरीलाई हस्तान्तरण गर्नुभएको हो । 

सहयोग रकम नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाकी कार्यसमिति सदस्य मीना कुमारी चौधरीका श्रीमान्लाई उपचार खर्चका लागि प्रदान गरिएको हो। चौधरी केही समय अघि सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । लामो समयदेखि अस्पतालमा उपचाररत रहेकाले थप उपचारका लागि काठमाडौं लैजानुपर्ने अवस्था आएको र आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको भन्दै शाखाले उपचार सहयोगार्थ रकम संकलन गरेको हो।
सभापति जोशीले सहयोग हस्तान्तरण गर्दै जिल्लामा मानवीय सेवाको क्षेत्रमा रेडक्रसले निरन्तर अग्रसर रहँदै आएको बताउनुभयो। उहाँले “दुर्घटनाग्रस्त बिरामीलाई सहयोग गर्न सक्नु हाम्रो साझा जिम्मेवारी हो। यो रकमले उहाँको उपचारमा केही भए पनि राहत पुग्नेछ भन्ने विश्वास लिएको छु,” भन्नुभयो।
दशैको पूजापाठ एवम् सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिल्ला शाखाका मन्त्री राजेश हमाल, उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, कार्यसमिति सदस्य कमलबहादुर देवकोटा, धौली जैशी, धर्मराज जोशी, मिना चौधरी, सुरत स्वार, शाखा विकास अधिकारी नरेन्द्र भट्ट लगायत स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि यस्तै मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले हरेक वर्ष विजयादशमीको अवसरमा फुलपातीका दिन पूजापाठ गर्दै आएको छ। यस वर्ष पूजापाठलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै संकलित रकम प्रत्यक्ष रूपमा उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो ।
जिल्ला शाखाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने र उपचारमा समस्या भोगिरहेका विपन्न परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले “दशैंको उत्सवलाई मात्र पूजापाठमा सीमित नराखी, मानवसेवामै जोड दिँदै सहयोग हस्तान्तरण गरिएको” बताउनुभयो ।




