लम्कीचुहा, क्षितिज जैसी

कैलालीको लम्कीचुहा नगरपालिका–१ थपालीपुरस्थित प्रसिद्ध पाठशालाका साना बालबालिकाहरूले यस वर्षको देउसी–भैली कार्यक्रममार्फत संकलन गरिएको रकम समाजसेवामा समर्पण गर्दै एक अद्भुत उदाहरण प्रस्तुत गरेका छन्। देउसी–भैली २०८२ कार्यक्रमबाट संकलित कुल रकम रु. ५१५५/- लम्की मानवसेवा आश्रम, मुख्य सेवा केन्द्रमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्मानपूर्वक हस्तान्तरण गरिएको हो। 
यो सहयोग रकम सानो देखिए पनि यसको भावनात्मक मूल्य अतुलनीय छ। साना नानीबाबुले आफ्नो माया, संस्कार र समाजप्रतिको जिम्मेवारीको सन्देश दिँदै असहाय मानवको सहारा बन्ने मानवसेवा आश्रममा यो सहयोग अर्पण गर्नु, समाजमा नयाँ चेतना जगाउने कदम बनेको छ।
विद्यालय प्रशासनका अनुसार प्रसिद्ध पाठशालाले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतका वर्षहरूमा पनि विभिन्न अवसर र कार्यक्रमहरूमा समाजका आवश्यकता अनुसार सहयोग गर्दै आएको छ। यस पटकको सहयोगले विद्यालयले न केवल “शिक्षा” प्रदान गर्छ, बरु “सस्कार” पनि रोप्ने शिक्षालयको परिचय झल्काएको छ।
कार्यक्रमका अवसरमा विद्यालयका शिक्षकहरूले बालबालिकालाई मानवता, सहयोग, करुणा र समाजप्रतिको दायित्वबोधको पाठ सिकाउँदै यस्तो कार्यले भविष्यमा उनीहरूलाई संवेदनशील नागरिक बनाउने बताए। अभिभावकहरू पनि आफ्ना बालबालिकाको यस्तो सामाजिक सोच देखेर अत्यन्तै गर्वित भएका छन्। 
मानवसेवा आश्रमका प्रतिनिधिहरूले विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने “यस प्रकारका स-साना सहयोगहरूले नै ठूलो परिवर्तन ल्याउँछन्। आश्रममा बस्ने असहाय, बृद्ध, बालबालिका र रोगीहरूका लागि यस्तो प्रेम र माया नै सबैभन्दा ठूलो उपहार हो।”
लम्की मानवसेवा आश्रममा विगत केही वर्षदेखि घरबारविहीन, असहाय, वृद्ध तथा बालबालिकाहरूको संरक्षण, पालनपोषण र पुनर्स्थापनाको कार्य निरन्तर चल्दै आएको छ। समाजका त्यस्ता आत्माहरूलाई सुरक्षित आश्रय दिने यस संस्थाको उद्देश्यमा यस्ता सहयोगहरूले थप ऊर्जा भरेको छ।
प्रसिद्ध पाठशालाका नानीबाबुहरूले देउसी–भैली खेल्दै संकलन गरेको रकम असहायहरूको जीवनमा उज्यालो ल्याउने खालको काममा प्रयोग हुनु, यो केवल सहयोग होइन मानवता, करुणा र शिक्षा बीचको पवित्र संगमको प्रतीक हो।
प्रेरणादायी कार्यले सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई समाजसेवाको बाटोमा अघि बढ्न प्रेरणा दिएको ।






