कैलाली लम्कीचुहा, क्षितिज जैसी

कैलालीको लम्कीचुहामा रहेको फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको आयोजना तथा लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवस्थापन सहयोगमा लम्कीचुहा नगरपालिका वडा नम्बर १, पूर्वलम्कीमा अवस्थित शहिद स्मृति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ।
लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लम्कीका प्रबन्धक एकिन्द्र प्रसाद जैशीओ सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयक प्रधानाध्यापक पुर्णप्रसाद जैशी रहनुभएको थियो ।
विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा बचतको महत्व, खर्च व्यवस्थापन, कर्जाको सचेत प्रयोग, वित्तीय अनुशासन तथा भविष्यमा आत्मनिर्भर बन्न आवश्यक आर्थिक सीपहरूबारे जानकारी गराइएको थियो।
सभाध्यक्ष जैशीले आर्थिक सचेतना आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थी जीवनदेखि नै वित्तीय अनुशासन अपनाउन सके सुरक्षित र सफल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो। 
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैशीले विद्यालय तहमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुनु अत्यन्तै सराहनीय पहल भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक जीवनका लागि सक्षम बनाउने विश्वास व्यक्त गर्दै आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य लम्की उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लम्कीका लघुवित्त सहायक कमला जैशीले दिनुभएको थियो। उहाँले वित्तीय साक्षरताले विद्यार्थीहरूमा बचत संस्कार, जिम्मेवार आर्थिक निर्णय क्षमता र आत्मनिर्भर सोचको विकास गर्ने बताउनुभयो।
कार्यक्रमको सञ्चालन शहिद स्मृति माध्यमिक विद्यालयका शिक्षक रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले वित्तीय विषयमा चासो देखाउँदै सक्रिय सहभागिता जनाएका थिए। 
कार्यक्रमको अन्त्यमा आयोजक फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै विद्यालय, वित्तीय संस्था र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूको धारणा रहेको थियो।
कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू तथा शिक्षक,शिक्षिकाहरू गरी करिब एक सय जनाको उपस्थिति रहेको थियो।




