कैलाली लम्की,क्षितिज जैसी
कैलालीको लम्कीचुहा नगरपालिकाको कार्यालयले सेवाग्राहीलाई छिटो, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ।

नगरपालिकाले कर्मचारीलाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय परिसरभित्र टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जाल नचलाउन व्यवस्था जनाएको छ। यस निर्णयले कर्मचारीहरूको ध्यान सेवामा केन्द्रित भई सेवाग्राहीलाई सहज र समयमै सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार कार्यालय समयभित्र अनावश्यक रूपमा सामाजिक सञ्जाल प्रयोग हुँदा सेवाप्रवाहमा ढिलाइ हुने, कामको गुणस्तरमा असर पर्ने तथा सेवाग्राहीले समस्या भोग्नुपर्ने अवस्था देखिएकाले यस्तो व्यवस्था गरिएको हो।
सेवामुखी प्रशासन, अनुशासित कार्यसंस्कृति र जवाफदेहीपन बढाउने उद्देश्यसहित लागू गरिएको यो निर्णयलाई सेवाग्राहीले पनि सकारात्मक रूपमा लिने नगरपालिकाको विश्वास रहेको छ




