सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय राजपत्रमा प्रकाशित गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त व्यवस्था २०८२ साल चैत २३ गते सोमबारदेखि लागू हुने गरी निर्णय गरिएको हो। सोअनुसार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिइनेछ। 

शैक्षिक संस्थाबाहेकका कार्यालय तथा निकायहरूको हकमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिने उल्लेख गरिएको छ।
तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने निर्णय गरेकोसमेत जनाइएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि अब राजपत्रमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
उक्त निर्णयलाई धेरैले स्वागतयोग्य कदम भनेका छन् ।




